नियम १३६
सन्ततिवृत्ति र शैक्षिक वृत्ति
: (१) कुनै प्रहरी कर्मचारी नियम १३४ बमोजिमको अवस्था परी आजीवन काम गर्न नसक्ने गरी अशक्त भएमा त्यस्तो अशक्त प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई देहायको दरले मासिक सन्ततिवृत्ति दिईनेछ :–
(क) राजपत्राङ्कित प्रहरी अधिकृत – दुई सय साठी रुपैयाँ
(ख) राजपत्र अनङ्कित प्रथम र द्धितीय श्रेणीका प्रहरी – एक सय चौवीस रुपैयाँ
(ग) राजपत्र अनङ्कित तृतीय र चतुर्थ श्रेणीका प्रहरी – एक सय सोह्र रुपैयाँ
(घ) प्रहरी कार्यालय सहयोगी वा सो सरह – एक सय बाह्र रुपैयाँ
(२) कुनै प्रहरी कर्मचारीको नियम १३५ बमोजिमको अवस्था परी मृत्यु भएमा त्यस्तो मृतक प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई मृतक प्रहरी कर्मचारीको बहाल रहेको पदको सुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्ततिवृत्ति दिईनेछ :–
पद सुरु तलबको प्रतिशत
(क) प्रहरी महानिरीक्षक वा प्रहरी अतिरिक्त महानिरीक्षक – ६.५
(ख) प्रहरी नायव महानिरीक्षक वा प्रहरी वरिष्ठ उपरीक्षक – ८
(ग) प्रहरी उपरीक्षक वा प्रहरी नायव उपरीक्षक – ९
(घ) प्रहरी निरीक्षक – १०
(ङ) प्रहरी वरिष्ठ नायब निरीक्षक वा प्रहरी नायब निरीक्षक– १२
(च) प्रहरी सहायक निरीक्षक – १३
(छ) प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान वा प्रहरी कार्यालय सहयोगी – १४
(३) उपनियम (१) बमोजिमको सन्ततिवृत्ति छोरा वा विवाह नगरेकी छोरी भए एक्काइस वर्षको उमेर पुरा गरेको वा सरकारी सेवामा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म सम्म पाउनेछ र उपनियम (२) वमोजिमको सन्ततिवृत्ति अठार वर्षको उमेर सम्म पाउनेछ ।
(४) कुनै प्रहरी कर्मचारीको नियम १३४ वा १३५ बमोजिमको अवस्थामा परी अशक्त भएमा वा मृत्यु भएमा त्यस्तो अशक्त वा मृतक प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई अठार वर्षको उमेर पूरा नभएसम्म उपनियम (१) वा (२) बमोजिमको सन्ततिवृत्तिको अतिरिक्त देहाय बमोजिमको दरले वार्षिक शैक्षिकवृत्ति समेत दिईनेछ :–
पद शैक्षिकवृत्ति
(क) राजपत्राङ्कित प्रहरी अधिकृत – दुईहजार चार सय रुपैयाँ
(ख) राजपत्र अनङ्कित प्रहरी र प्रहरी कार्यालय सहयोगी वा सो सरह – एक हजार आठ सय रुपैयाँ
(५) नेपाल सरकारले अमर प्रहरी वा कर्तव्य पालनाको सिलसिलामा असक्त भएका प्रहरी कर्मचारीका सन्ततिलाई नेपालको सरकारी विश्वविद्यालयमा नेपाल सरकारले निर्धारण गरे बमोजिम निःशुल्क शिक्षाको व्यवस्था गर्न सक्नेछ।